77
काठमाडौं । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० खड्खदेनजिक भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी महाकाली नदीमा खसेर बेपत्ता भएकी छन्। स्थानीय सृष्टि सुनार नदीमा खसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार घटना सोमबार भएको हो। किशोरी नदीमा खसेको दृश्यसमेत भिडियोमा देखिएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षाकर्मीको टोली परिचालन गरी नदीमा किशोरीको खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार नदीको बहाव र भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ।