भोजपुरका ५०० परिवारलाई अनुदानमा इन्डक्सन चुलो, ग्यास र दाउराको निर्भरता घटाउने लक्ष्य

29 October, 2026 59 Views
भोजपुरका ५०० परिवारलाई अनुदानमा इन्डक्सन चुलो, ग्यास र दाउराको निर्भरता घटाउने लक्ष्य
59

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई ५०० वटा विद्युतीय चुलो वितरण गरेको छ। परम्परागत दाउरा र आयातीत ग्यासको प्रयोग घटाउँदै स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानमा चुलो वितरण गरेको हो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदान र स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

उनका अनुसार विद्युतीय चुलोको प्रयोग बढाउँदा खाना पकाउन लाग्ने समय बचत हुनुका साथै दाउराको खपत र ग्यासमाथिको निर्भरता घटाउन सहयोग पुग्नेछ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले विद्युतीय चुलोको प्रयोगले भान्सामा दाउरा बाल्दा उत्पन्न हुने धुवाँ र घरभित्रको वायु प्रदूषण कम गर्न मद्दत पुग्ने बताइन्।

गाउँपालिकाका अनुसार १५ एम्पियर क्षमताको विद्युत् लाइनसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेका परिवारलाई आवेदनका आधारमा चुलो वितरण गरिएको हो।

Related Post