काठमाडौं । मोरङको लेटाङका एक व्यक्तिलाई मृत ठानेर अन्त्येष्टि गरिएको ६ महिनापछि उनी जीवितै घर फर्किएका छन्। ३७ वर्षीय पदमबहादुर राय जीवितै भेटिएपछि प्रहरीले त्यसबेला अन्त्येष्टि गरिएको शव कसको थियो भन्ने पत्ता लगाउन पुनः अनुसन्धान थालेको छ।
लेटाङ नगरपालिका–५ खेरूवाका पदमबहादुरको मृत्यु भएको विश्वासमा परिवारले गत जेठ २७ गते अन्त्येष्टि गरेको थियो। उनको मृत्युका आधारमा परिवारले दुर्घटना बीमाबापत ५ लाख ५० हजार रुपैयाँसमेत प्राप्त गरेको थियो। तर, पदमबहादुर नै जीवितै फर्किएपछि घटनाले नयाँ मोड लिएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार परिवारले पदमबहादुर जीवित रहेको पुष्टि गरेपछि प्रहरीले घटनासँग सम्बन्धित पुराना तस्बिर र भिडिओको अध्ययन गर्दै अनुसन्धान अघि बढाएको छ। परिवारले बीमाबापत प्राप्त रकम फिर्ता गर्ने बताएको पनि प्रहरीले जनाएको छ।
प्रहरीको अनुसन्धान अहिले मुख्यतः दुई विषयमा केन्द्रित छ। पहिलो, दुर्घटनामा मृत्यु भएका व्यक्तिको वास्तविक पहिचान के थियो भन्ने र दोस्रो, परिवारले शवलाई पदमबहादुरकै भनेर कसरी सनाखत गर्यो भन्ने।
प्रहरीका अनुसार २०८३ जेठ २६ गते बिहान करिब साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएपछि शव कोशी अस्पतालको शवगृहमा राखिएको थियो।
मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि पदमबहादुरकी आमा अस्पताल पुगेर शव आफ्नै छोराको भएको बताएपछि प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएको थियो।
प्रहरीका अनुसार पदमबहादुर २०८२ माघदेखि घरबाहिर रहँदै आएका थिए। विवाहपछि श्रीमती अलग्गिएको र त्यसपछि उनी नियमित रूपमा घरमा नबस्ने गरेको विवरण परिवारबाट प्राप्त भएको प्रहरीले जनाएको छ। लामो समय सम्पर्कमा नरहेका कारण दुर्घटनामा मृत्यु भएका व्यक्तिलाई परिवारले पदमबहादुरकै रूपमा पहिचान गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ।
पदमबहादुर जीवितै फर्किएपछि त्यसबेला मृत्यु भएका व्यक्तिको पहिचान, शव सनाखतको प्रक्रिया र बीमा भुक्तानीसम्बन्धी विषयमा थप अनुसन्धान आवश्यक देखिएको छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन पुराना प्रमाणहरूको पुनः परीक्षण गरिरहेको जनाएको छ।