काठमाडौं । कास्की कारागारमा जन्मकैदको सजाय भोगिरहेका एक कैदी बिजुली मर्मतका लागि ल्याइएको भर्याङ प्रयोग गरेर फरार भएको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा सजाय काटिरहेका पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी गत असोज ३१ गते राति करिब २ बजे कारागारबाट भागेका थिए । उनी कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार जलारीले करिब एक महिनादेखि भाग्ने योजना बनाएका थिए । बिजुली मर्मतका लागि कारागारमा ल्याइएको भर्याङ आफूले पसल सञ्चालन गर्ने ठाउँमा राखेर मध्यरातमा उनी भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कारागारभित्र पसलसमेत सञ्चालन गर्दै आएका जलारीले नाइके र अन्य कैदीलाई झुक्याएर भाग्न सफल भएको प्रहरीको भनाइ छ । सुरक्षामा खटिएका प्रहरी तथा कैदीका नाइकेबाट पर्याप्त निगरानी नहुँदा यस्तो घटना भएको हुन सक्ने प्रहरी उपरीक्षक कार्कीले बताएका छन् ।
कारागारका जेलर घनश्याम गौतमका अनुसार जलारी फरार भएको जानकारी भोलिपल्ट बिहान कैदी गणना गर्ने क्रममा मात्र भएको थियो । घटनापछि कारागारको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि प्रश्न उठ्नु स्वाभाविक रहेको उनले बताए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले फरार भएको दुई दिनपछि जलारीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान र डाँकासम्बन्धी कसुरमा जलारीले यसअघि नै २५ वर्ष कैद सजाय पाएका छन् । पछिल्लो घटनामा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्ने प्रहरी उपरीक्षक कार्कीले बताएका छन् ।