पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप, १० विदेशीको पासपोर्ट जफत

29 October, 2026 49 Views
पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गरेको आरोप, १० विदेशीको पासपोर्ट जफत
49

काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको सर्तविपरीत गतिविधि गरेको आशंकामा मोरङमा १० जना विदेशी नागरिकको पासपोर्ट जफत गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार कानेपोखरी गाउँपालिका–७, बरगाछीमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएर अध्यागमन विभागमा पठाइएको हो।

पासपोर्ट जफत गरिएकामा ब्राजिलका तीन, क्यानडाका दुई र अमेरिकाका पाँच जना नागरिक छन्।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले उनीहरूलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन्। भिसामा उल्लेख भएको उद्देश्य र उनीहरूले गरिरहेको कामबीच मेल नखाएपछि पासपोर्ट नियन्त्रणमा लिइएको उनले बताए।

यता, प्रहरी स्रोतले भने उनीहरू पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न रहेको जानकारी दिएको छ। यस विषयमा थप निर्णय अध्यागमन विभागबाट हुने जनाइएको छ।

Related Post