भारतबाट दोहोरो अंकले बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगमले अझै सार्वजनिक गरेन नयाँ दर

02 August, 2026 73 Views
भारतबाट दोहोरो अंकले बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगमले अझै सार्वजनिक गरेन नयाँ दर
73

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नयाँ खरिद मूल्य प्राप्त भएको दुई दिन बितिसक्दा पनि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन। आईओसीबाट आएको मूल्यमा उल्लेख्य परिवर्तन भएकाले सञ्चालक समितिको निर्णयपछि मात्र नयाँ मूल्य लागू गरिने निगमले जनाएको छ।

निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। यसअनुसार आईओसीबाट प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा प्राप्त हुने नयाँ मूल्यका आधारमा नेपालमा खुद्रा मूल्य निर्धारण गरिन्छ। यसपटक साउन १ गते (अगस्ट १) नयाँ मूल्य प्राप्त भए पनि हालसम्म त्यसबारे निर्णय भएको छैन।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आईओसीबाट आएको नयाँ मूल्यमा ठूलो अन्तर देखिएकाले सञ्चालक समितिको बैठकबाट निर्णय भएपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ।

स्वचालित मूल्य प्रणालीअनुसार प्रतिलिटर २ रुपैयाँसम्म मूल्य बढाउने वा घटाउने अधिकार निगम व्यवस्थापनलाई हुन्छ। तर, त्यसभन्दा बढी समायोजन गर्नुपर्ने अवस्थामा सञ्चालक समितिको स्वीकृति अनिवार्य हुन्छ। यही कारण यसपटक मूल्य समायोजनमा ढिलाइ भएको हो।

निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य पनि दोहोरो अंकले बढेर आएको छ। त्यसैले नेपालमा पनि पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढ्ने सम्भावना बलियो रहेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सञ्चालक समितिको बैठक बस्न सकेको छैन। बैठक बसेर निर्णय गरेपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक हुनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी अध्यक्ष रहेको सञ्चालक समितिले मूल्य समायोजनसम्बन्धी अन्तिम निर्णय गर्नेछ। निगमले भने नयाँ मूल्य कहिलेदेखि लागू हुने भन्नेबारे अझै औपचारिक जानकारी दिएको छैन।

Related Post