काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका २१ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ। उपचाररतमा एक भारतीय नागरिकसमेत रहेका छन्।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये ५५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने चार जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको छ।
हाल उपचाररत २१ जनामध्ये पवित्र कार्की, पेमा तामाङ र चण्डिका श्रेष्ठ आईसीयूमा छन्। मीनबहादुर श्रेष्ठ र राजेन्द्र भट्टलाई हाई केयर युनिटमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
उपचाररतमा अशोक श्रेष्ठ, बलबहादुर घर्ती, मिनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, रामप्रसाद थारु, रिता डोल्चा, ऋतु डङ्गोल, सुरुची राना मगर, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, सिजल थापा क्षेत्री, सितार तामाङ, मनिषा उचाई मगर, श्रीकेशकुमार यादव, चण्डिका श्रेष्ठ, कृष्ण श्रेष्ठ र सनम पाल्मो रहेका छन्।
त्यस्तै, भारतीय नागरिक नवलेश शर्माको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको डा. सेढाईंले जानकारी दिए।
यसैबीच, अस्पतालमा ल्याइएका २५ वर्षीय कुशल मगरको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।