भोटेकोशी बाढीमा जलविद्युत आयोजनाका दुई सयभन्दा बढी सम्पर्कविहीन

27 August, 2026 100 Views
भोटेकोशी बाढीमा जलविद्युत आयोजनाका दुई सयभन्दा बढी सम्पर्कविहीन
100

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा क्षेत्रमा विभिन्न जलविद्युत आयोजनामा कार्यरत दुई सयभन्दा बढी नेपाली तथा विदेशी कर्मचारी र कामदार सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार उनीहरूको अवस्था अझै अज्ञात छ।

इप्पानका अनुसार नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कार्यरत ११ जना सम्पर्कविहीन छन्। तीमध्ये ८ जना कोरियन नागरिक रहेका छन्। आयोजनाका परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन छन्।

त्यस्तै, रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। टिमुरेमा रहेका ३ जनाले भने अग्लो स्थानमा गएर ज्यान जोगाएका छन्।

मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत ८ जनासँग बुधबारदेखि सम्पर्क हुन सकेको छैन। त्यस्तै, सिभिल ठेकेदार कम्पनी सिनो हाइड्रोका २ जना सम्पर्कविहीन छन् भने ३ चिनियाँ र २ नेपाली गरी ५ जना नजिकैको गाउँमा शरण लिएर उद्धारको पर्खाइमा रहेको इप्पानले जनाएको छ।

यसैबीच, बुधबार सुरुङभित्र फसेका ६० जनासँग समेत सम्पर्क हुन नसकेको इप्पानको भनाइ छ। बाढी र पहिरोका कारण सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

Related Post