काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान अचेत अवस्थामा भेटिएका हुन्।
बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि प्रहरीले निवासमा पुगेर हेर्दा ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटिएको थियो। लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट प्रवेश गरी उनलाई बाहिर निकालेको थियो।
तत्काल अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै केसीको मृत्युको कारण खुल्नेछ।