काठमाडौं। विद्यालय शिक्षा ऐन अझै जारी नभएको भन्दै नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले सरकारसँग पटक–पटक सहमति भए पनि ऐन जारी नभएको र शिक्षकका माग पूरा नभएको भन्दै फेरि आन्दोलनमा उत्रिने बताएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काठमाडौंमा आयोजित महासंघको तेस्रो राष्ट्रिय परिषद् कार्यक्रममा बोल्दै शिक्षकका माग अझै पूरा नभएकाले आन्दोलन नै एकमात्र विकल्प बनेको बताएको छ। उनले आफू भदौ १८ गतेदेखि अवकाशमा जानुअघि नै आन्दोलन सुरु हुने संकेत दिएका छन्।
उनले विगतको आन्दोलन अहिलेसम्मकै सबैभन्दा ठूलो र लामो भएको स्मरण गराउँदै, विधेयक प्रतिनिधिसभासम्म पुगे पनि त्यसबेलाको राजनीतिक परिस्थितिका कारण ऐन जारी हुन नसकेको उल्लेख गरेका छन्।
उनले सरकारले विद्यालय कर्मचारी, इसिडी शिक्षक र शिक्षण–सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब नबढाएको आरोप लगाए। साथै, नयाँ शिक्षक नियमावलीले सरुवा र बढुवाको प्रक्रिया कठिन बनाएको, अस्थायी शिक्षकका समस्या अझै समाधान नभएको र अवकाश हुने शिक्षक उचित सुविधा बिना घर फर्किनुपर्ने अवस्था रहेको बताएका छन्।