काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा मुलुकको समग्र आर्थिक अवस्था, शेयर बजारको पछिल्लो गतिविधि, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
छलफलमा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने उपाय, बजारमा देखिएका पछिल्ला प्रवृत्ति तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ। सरकार र नेपाल राष्ट्र बैंकबीच आर्थिक नीतिको प्रभावकारी कार्यान्वयन, लगानीमैत्री वातावरण निर्माण तथा वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने विषयमा समन्वय आवश्यक रहेकोमा दुवै पक्षबीच सहमति भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री र गभर्नरबीचको यो भेटलाई मुलुकको वर्तमान आर्थिक अवस्था, पूँजी बजारको उतारचढाव तथा बैंकिङ क्षेत्रका चुनौतीबारे सरकार र केन्द्रीय बैंकबीचको समन्वयका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।