बञ्चरेडाँडा फोहोरको विषयमा तामाङ र मेयरबीच चर्काचर्की, बैठक छाडेर निस्किइन् सांसद

21 August, 2026 58 Views
बञ्चरेडाँडा फोहोरको विषयमा तामाङ र मेयरबीच चर्काचर्की, बैठक छाडेर निस्किइन् सांसद
58

काठमाडौं । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका विषयमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ।

सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाको पहलमा काठमाडौं उपत्यकासहित फोहोर व्यवस्थापनबाट प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल आयोजना गरिएको थियो। बैठकमा सांसद तामाङ पनि सहभागी थिइन्।

छलफलका क्रममा फोहोर व्यवस्थापन र प्रभावित क्षेत्रका स्थानीयको अवस्थाबारे कुरा उठेपछि तामाङ र स्थानीय जनप्रतिनिधिबीच भनाभन भएको थियो। वातावरण तनावपूर्ण बनेपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतका जनप्रतिनिधिले उनलाई सम्झाउने प्रयास गरेका थिए।

त्यसक्रममा मेयर महर्जनले तामाङलाई ‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?’ भन्दै प्रश्न गरेका थिए। जवाफमा तामाङले ‘आउनु पर्‍यो नि’ भनेपछि महर्जनले ‘आउँदै हुनुहुन्छ त’ भन्दै प्रतिक्रिया दिएका थिए।

त्यसपछि तामाङले ‘बञ्चरेडाँडाका मान्छे होइन ?’ भन्दै प्रश्न गरेकी थिइन्। उनले फोहोर व्यवस्थापनको विषयमा स्थानीय सरकारहरूले अहिलेसम्म प्रभावकारी पहल नगरेको आरोपसमेत लगाइन्।

तामाङले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका कारण प्रभावित स्थानीयका समस्या समाधान गर्नुपर्ने माग गर्दै भोलिदेखि त्यहाँ फोहोर लैजान नदिने चेतावनी दिएकी थिइन्।

छलफलका क्रममा वातावरण थप तनावपूर्ण बनेपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन्।

Related Post