ब्रड पिकमा हिमपहिरोपछि निम्स पुर्जासहित १० आरोही बेपत्ता

31 July, 2026 172 Views
ब्रड पिकमा हिमपहिरोपछि निम्स पुर्जासहित १० आरोही बेपत्ता
172

काठमाडौं। पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा बिहीबार बिहान गएको भीषण हिमपहिरोपछि नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्। हिमपहिरो करिब बिहान ९ः२० बजे गएको बताइएको छ, जतिबेला विभिन्न टोलीका आरोहीहरू शिखरतर्फ अघि बढिरहेका थिए।

अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) का अनुसार करिब ८,०४७ मिटर उचाइमा हिमपहिरोले आरोहीहरूको टोलीलाई प्रभावित पारेको हो। सम्पर्कविहीन टोलीमा निर्मल पुर्जाको नेतृत्वमा रहेका पाँच नेपाली, पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नथिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चीनका वाङ तथा अर्का एक विदेशी आरोही रहेका छन्।

एसीपीले घटनापछि सम्पूर्ण टोलीसँग सम्पर्क विच्छेद भएको पुष्टि गर्दै पाकिस्तान सरकार तथा सम्बन्धित निकायसँग उद्धार अभियानका लागि समन्वय भइरहेको जनाएको छ। मौसमले साथ दिएमा शुक्रबार बिहान दुईवटा हेलिकोप्टर उद्धारकर्मी र अक्सिजनसहित घटनास्थलतर्फ पठाइने तयारी गरिएको छ।

उपलब्ध ट्र्याकिङ विवरणअनुसार आरोहीहरूले बिहान करिब ९ः३० बजेपछि आरोहण रोकेको र त्यसपछि उनीहरूको संकेत सयौँ मिटर तल सरेको देखिएको छ। यद्यपि, उनीहरूको वास्तविक अवस्था अझै खुल्न सकेको छैन।

घटनाबारे अर्को गम्भीर पक्ष भनेको हिमपहिरो बिहान भए पनि यसको जानकारी करिब १३ घण्टापछि मात्र सार्वजनिक भएको हो। यसले समयमै सूचना प्राप्त भएको भए उद्धार कार्य अझ छिटो सुरु गर्न सकिने सम्भावना रहेको भन्दै प्रश्नसमेत उठाएको छ।

निर्मल पुर्जा यसअघि ग्यासेरब्रुम–२ मात्रै आरोहण गर्ने योजनासहित पाकिस्तान पुगेका थिए। तर ब्रड पिक पनि आरोहण गर्ने निर्णय गरेपछि अक्सिजनबिना विश्वका १४ वटै आठ हजार मिटरभन्दा अग्ला हिमाल दुईपटक आरोहण गर्ने इतिहास रच्ने लक्ष्य उनको रहेको थियो। अहिले सम्पूर्ण पर्वतारोहण समुदाय उनीसहित सम्पर्कविहीन सबै आरोहीको सुरक्षित उद्धारको प्रतीक्षामा छ।

 
 
 

Related Post