काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर बेपत्ता भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव तीन दिनपछि ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा फेला परेको हो।
बिहीबार बिहान ब्रड पिकमा आएको हिमपहिरोपछि निम्सदाइ र उनको टोलीका सदस्यहरूसँग सम्पर्क टुटेको थियो। त्यसपछि पाकिस्तानी सेना, उद्धारकर्मी र पर्वतारोहणसम्बन्धी निकायले खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए।
यसअघि शनिबार निम्सदाइको अभियान आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको जनाएको थियो।
आइतबारसम्म तीन जना पर्वतारोहीको शव उद्धार गरिएको थियो। साथै, अमेरिकाका एक पर्वतारोहीको भएको विश्वास गरिएको शवका अवशेष पनि फेला परेको एसीपीकी नायला कियानीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डन ले जनाएको छ।त्यसपछि एसीपीले जारी गरेको विज्ञप्तिमार्फत निम्सदाइको शव पनि फेला परेको पुष्टि गरेको हो।
एसीपीले विज्ञप्तिमा भनेको छ, ‘अत्यन्त दुःखका साथ यो जानकारी साझा गरिरहेका छौं। स्थलमार्गबाट गएको उद्धार टोली ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा निर्मल पुर्जा ‘निम्सदाइ’को शवसम्म पुगेको छ। त्यहाँ थप तीन शव पनि देखिएका छन्, तर तिनीहरूको पहिचान अझै पुष्टि भएको छैन। उद्धार टोलीले शवहरूलाई जापानी शिविरसम्म ल्याउनेछ।’
एसीपीले घटनास्थलको भौगोलिक अवस्था अत्यन्त कठिन रहेकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको जनाएको छ। साथै, घटनाबारे थप आधिकारिक पुष्टि नआउन्जेल अपुष्ट सूचना नफैलाउन पनि सबैसँग आग्रह गरेको छ।