बारामा घाँटी रेटेर एक पुरुषको हत्या

28 November, 2025 108 Views
बारामा घाँटी रेटेर एक पुरुषको हत्या
108

मंसिर, काठमाडौं । बारामा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर–२ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको शुक्रबार प्रसौनी गाउँपालिका–६ भलुही चौक नजिकमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। सो गाउँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय प्रसौनीको टोली पुगेको थियो। घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ। तालिम प्राप्त कुकुर परिचालन गरी सूक्ष्म अनुसन्धान भइरहेको उनले जानकारी दिए।

मृतक सिंह प्रसौनीस्थित किरण बिग्रेज नेपाल प्रालिका व्यवस्थापक रहेको प्रहरीले जनाएको छ। नेपाल–भारत सिमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको र छिट्टै दोषीहरू पक्राउ पर्ने बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। घटनास्थल वीरगञ्जबाट करिब १० किलोमिटर पूर्व कलैया–वीरगञ्ज सडकखण्डमा पर्छ।

Related Post