चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने महासंघको प्रतिबद्धता

73

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ।

सोमबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म हाल कायम भाडादरमै यात्रुलाई सेवा दिइने बताएका हुन्।

उनले चाडपर्वमा अग्रिम टिकट बुकिङसँगै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु मुख्य चुनौती रहेको बताए। सडकको खराब अवस्था र विभिन्न स्थानमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा कठिनाइ भए पनि सरकारसँग समन्वय गरी सेवा निरन्तरता दिने उनको भनाइ छ।

सिटौलाले तोकिएको बसपार्क तथा काउन्टरबाट मात्रै टिकट बिक्री गर्ने व्यवस्था गर्नुपर्ने भन्दै यात्रु ठगी रोक्न र विचौलियालाई निरुत्साहित गर्नुपर्ने बताए। साथै, लामो दूरीका सवारीमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने उनले जानकारी दिए।

चाडपर्वमा यात्रुवाहक सवारीलाई प्राथमिकता दिन तथा सडकका खाल्डाखुल्डी तत्काल पुर्न सरकारसँग उनले आग्रह गरेका छन्।

Related Post