काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र राज्यका निकायले गर्ने छानबिनमा सहयोग गर्ने बताएका छन् । उनले आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट निलम्बन हुन र सांसद पदबाट निलम्बित हुनसमेत तयार रहेको बताएका छन् ।
एक महिलालाई अश्लील गाली गर्दै धम्की दिएको र ब्ल्याकमेल गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले यस्तो प्रतिक्रिया दिएका हुन् ।
मंगलबार फेसबुकमा भिडियो सार्वजनिक गर्दै उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको बताए । जनताले उठाएका प्रश्नको सामना गर्न आफू कुनै पनि सार्वजनिक ठाउँमा उपस्थित हुन तयार रहेको उनको भनाइ छ ।
‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ उनले भने, ‘राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु।’
सांसद सुनारले आफूमाथि सार्वजनिक भएको अडियो बनावटी भएको दाबीसमेत गरेका छन् । प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका कारण आफूलाई निरन्तर निशाना बनाइएको उनको आरोप छ ।
पार्टीको कामका सिलसिलामा दाङमा रहेका सुनारले आफूले कानुनविपरीत काम गरेको प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताए ।
‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन,’ उनले भने ।
यसअघि रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै सुनारमाथि सार्वजनिक भएका आरोपबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन अघि बढाउन निर्देशन दिएको जानकारी दिएका थिए । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत पार्टीले निर्देशन दिएको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारमाथि सार्वजनिक भएका आरोपबारे छानबिन प्रक्रिया अघि बढाइएको छ । उनीमाथि लागेका आरोपको सत्यतथ्य भने छानबिनबाट पुष्टि हुन बाँकी छ ।