काठमाडौं । गोप्य सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ।
गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकको मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको छ। उनलाई सशस्त्र प्रहरी नियमावलीअनुसार छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
दाहालमाथि गोप्य सूचना चुहाएको आरोप लागेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका बेला उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको र झापाका एक बिचौलियासँग समेत उनको सम्पर्क देखिएको दाबी गरिएको छ।
दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए। सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार एआईजीको पदावधि चार वर्ष हुन्छ। उनी २८ वैशाख २०७९ मा एआईजी भएका थिए। त्यसअनुसार उनको चारवर्षे पदावधि पूरा हुनुअघि नै उनीमाथि निलम्बनको कारबाही भएको हो।
नियमावलीमा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार दाहालको पदावधि थप गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिससमेत गरेको थियो।
तर, पदावधि थपको निर्णय हुनुअघि नै गोप्य सूचना चुहाएको आरोपमा दाहाल निलम्बनमा परेका हुन्। छानबिन समितिको प्रतिवेदनपछि उनीमाथि थप कारबाही प्रक्रिया अघि बढाइने गृह मन्त्रालयले जनाएको छ।