एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस

09 October, 2026 80 Views
एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस
80

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुभमेन्टसम्बन्धी सूचना अनधिकृत व्यक्तिलाई दिएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ।

एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गर्दै बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। दाहाल गत असोज १९ गतेदेखि निलम्बनमा छन्।

गृह मन्त्रालय स्रोतका अनुसार दाहाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो। छानबिनका क्रममा दाहालले सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री शाहको मुभमेन्टसम्बन्धी सूचना पठाएको खुलेको स्रोतको दाबी छ।

देशको कार्यकारी प्रमुखको गतिविधिसम्बन्धी सूचना अनधिकृत व्यक्तिलाई दिएको विषयलाई गम्भीर रूपमा लिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ। यही विषयलाई आधार बनाएर दाहाललाई सेवाबाट बर्खास्त गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ।

यद्यपि, दाहाललाई बर्खास्त गर्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ।

Related Post