काठमाडौं। युवा अभियन्ता तथा राष्ट्रिय युवा परिषद्का निबर्तमान बोर्ड सदस्य रबेन्द्र विक्रम शाहले पोखरा विश्वविद्यालय अन्तर्गत एमबीए (Master of Business Administration) कार्यक्रमको पाँचौं ट्राइमेस्टर परीक्षामा विश्वविद्यालय प्रथम (University Topper) बन्न सफल भएका छन्।
सुदुरपश्चिम प्रदेशका स्थायी बासिन्दा शाह विगत एक दशक देखि युवा सशक्तीकरण, नेतृत्व विकास, सुशासन, मानव अधिकार तथा सामाजिक रूपान्तरणका क्षेत्रमा सक्रिय रूपमा कार्यरत छन्। शैक्षिक उत्कृष्टतासँगै सामाजिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएका शाहको यो उपलब्धिले सुदूरपश्चिमका युवाहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
उनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा समेत कार्यसम्प्रदान गरिसकेका छन्। साथै, राष्ट्रिय युवा परिषद्कै केन्द्रीय प्रशिक्षकको भूमिकामा रही देशभरका ३० भन्दा बढी स्थानीय तहमा हजारौं युवालाई नमुना युवा संसद अभ्यास सम्बन्धी प्रशिक्षण प्रदान गरिसकेका छन्।
शाह विभिन्न १२ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (NGOs/INGOs) मा नेतृत्वदायी तथा स्वयंसेवी भूमिकामा आबद्ध रहँदै आएका छन्। उनी Youth Welfare Network का संस्थापक अध्यक्ष, Youth NGO Federation Nepal का बोर्ड सदस्य, World Food Forum Nepal का पूर्व बोर्ड सदस्य, Amnesty International Nepal का व्यक्तिगत सदस्य , युवा अभियानका पुर्व कोषाध्यक्ष तथा विभिन्न युवा संस्थाहरूमा नेतृत्वदायी भूमिकामा सक्रिय छन्।
शैक्षिक रूपमा पनि शाह सधैं उत्कृष्ट विद्यार्थीका रूपमा परिचित छन्। उनले एसएलसीमा विशिष्ट श्रेणी तथा स्नातक तह (BBS) मा प्रथम श्रेणी हासिल गरेका छन्। हाल उनी पोखरा विश्वविद्यालयमा एमबीए अध्ययनरत रहेका छन् भने “Nepalese Youth Perception Towards Climate Change” विषयमा अनुसन्धान गरिरहेका छन्।
शाहले यसअघि पनि एमबीएको दोस्रो ट्राइमेस्टर परीक्षामा विश्वविद्यालय प्रथम बन्ने गौरव हासिल गरेका थिए। साथै, युवा नेतृत्व, उद्यमशीलता, मानव अधिकार, जलवायु परिवर्तन तथा सार्वजनिक नीति सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। उनी संयुक्त राष्ट्रसंघ (UN), विश्व बैंक (World Bank) तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) लगायतका संस्थाबाट आयोजित कार्यक्रमहरूमा निमन्त्रणा प्राप्त गर्ने नेपाली युवा अभियन्ताहरूमध्ये एक हुन्।
आफ्नो सफलताको श्रेय परिवार, शिक्षक, सहकर्मी तथा आफूले सेवा गरेका विभिन्न संस्थाहरूलाई दिँदै शाहले युवाहरूलाई निरन्तर अध्ययन, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा सक्रिय हुन आग्रह गरेका छन्।
उनको यो उपलब्धिलाई युवा क्षेत्र, शैक्षिक समुदाय तथा सुदूरपश्चिम प्रदेशका लागि गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।