एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको शक्ति प्रदर्शन काठमाडौं प्रशासनले रोक्ने

10 October, 2025 147 Views
एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको शक्ति प्रदर्शन काठमाडौं प्रशासनले रोक्ने
147

असोज, काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ले शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली प्रशासनले रोक्ने निर्णय गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले शुक्रबार एक सूचना जारी गर्दै राजधानीभित्रका सबै प्रकारका र्‍याली, जुलुस, सभा, धर्ना र प्रदर्शन निषेध गरिएको जानकारी दिएका छन्।

युवा संघले ‘देशभक्ति र राष्ट्रिय एकताको सन्देश’का लागि भन्दै शनिबार मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको थियो। तर, प्रशासनले उक्त कार्यक्रमले सुरक्षा चुनौती सिर्जना गर्न सक्ने भन्दै कुनै पनि समूह वा संगठनलाई स्वीकृति नदिने निर्णय गरेको हो।

सूचनामा भनिएको छ, “गत भदौ २३ गतेको जेन्जी आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेका घटनालाई स्मरण गर्दै, आम नागरिकको सुरक्षाको प्रत्याभूति गर्न प्रशासनले यस्तो निर्णय गरेको हो।”

स्थानीय प्रशासन ऐन २०२८ र प्रहरी ऐन २०१२ का प्रावधानका आधारमा जारी गरिएको आदेशअनुसार, पूर्व स्वीकृति बिना कुनै पनि र्‍याली वा प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ। प्रशासनको यो कदमपछि एमाले निकट युवाहरूले भने सामाजिक सञ्जालमार्फत सत्ता पक्षले विरोधी गतिविधिलाई रोक्ने नाममा स्वतन्त्र अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन्। यसअघि पनि विभिन्न राजनीतिक दलका भातृसंगठनहरूले काठमाडौंमा आयोजना गर्ने प्रदर्शनहरूलाई प्रशासनले सुरक्षा कारण देखाउँदै रोक्दै आएको छ।

Related Post