50
काठमाडौँ। नेकपा एमाले भित्र नीति, नेतृत्व र सङ्गठनात्मक संरचनामा आमूल परिवर्तनको बहस चलिरहेका बेला सार्वजनिक भएको एक आन्तरिक मत सर्वेक्षणले पार्टीभित्र तीव्र असन्तुष्टि र रूपान्तरणको हुटहुटी रहेको देखाएको छ। 'नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८२' ले देश तथा विदेशका १४ देशमा गरेको डिजिटल सर्वेक्षण अनुसार ८७.६ प्रतिशत सहभागीले विद्यमान पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा स्पष्ट मतदान गरेका छन्।
सर्वेक्षणमा ९१.४ प्रतिशत सहभागीले एमाले हालकै अवस्थामा अगाडि बढ्न नसक्ने मत राखेका छन् भने ९५.४ प्रतिशतले वर्तमान नेतृत्वको व्यवहार र आचरणमा सुधार आउनुपर्ने माग गरेका छन्। अभियानका सदस्य रमेश पौडेल सहितको टोलीले बिहीबार नै यो विस्तृत प्रतिवेदन पार्टीका महासचिव एवं समीक्षा तथा पुनर्गठन कार्यदलका सदस्य सचिव शङ्कर पोखरेललाई बुझाएको छ।
एमाले सम्बद्ध ७२.२ प्रतिशत सङ्गठित सदस्य, १५.९ प्रतिशत समर्थक तथा शुभेच्छुक र १० प्रतिशत स्वतन्त्र नागरिकबिच गरिएको यस सर्वेक्षणले नेतृत्व हस्तान्तरणको ठोस मोडालिटी समेत अघि सारेको छ।५०.२ प्रतिशत सहभागीले केन्द्रीय कमिटीभन्दा बाहिर रहेका नयाँ नेताहरूलाई नेतृत्व सुम्पिनु उपयुक्त हुने धारणा राखेका छन् भने वर्तमान पदाधिकारीभित्रै नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा जम्मा १६.७ प्रतिशत मात्रै उभिएका छन्।
पार्टी पुनर्संरचनाका लागि ४७.७ प्रतिशतले 'विशेष महाधिवेशन' को माग गरेका छन् भने ८२.८ प्रतिशतले एउटै पदमा बढीमा २ पटक मात्र जिम्मेवारी पाउनुपर्ने कार्यकालको सीमा तोक्न सुझाव दिएका छन्। चुनावमा बेहोरेको पराजय र आन्तरिक लोकतन्त्र संकुचित बन्दै गएको भन्दै युवा पुस्ताले ल्याएको यो प्रतिवेदनले अध्यक्ष केपी शर्मा ओलीसहितको वर्तमान संस्थापन पक्षमाथि नेतृत्व छाड्न चौतर्फी दबाब बढाएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।