काठमाडौं । नेकपा एमालेले २१ फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोरेको हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष निकालेको छ।
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा निर्वाचन परिणामलाई समग्र राजनीतिक र सांगठनिक परिस्थितिको विश्लेषणका आधारमा बुझ्नुपर्ने उल्लेख गरिएको छ।
अपानिमा पार्टीको हार बाह्य प्रहारको मात्र नभई आन्तरिक कमजोरीको समेत परिणाम भएको स्वीकार गरिएको छ। पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र संगठनात्मक कमजोरीलाई हारका प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।
अपानिमा अध्यक्ष ओलीले आफूले अध्यक्षका रूपमा आफ्नो भागमा पर्ने हारको जिम्मेवारी स्वीकार गर्ने बताएका छन्। तर, पार्टी अध्यक्षबाट भने पछि नहट्ने संकेत गर्दै उनले अहिले भाग्ने वा दोषारोपणमा अल्झिने समय नभएको बताएका छन्।
२६ पृष्ठ लामो अपानिमा केन्द्रीय कमिटी बैठकका निर्णय, मनोनयनलगायत विषय र अध्यक्ष ओलीसहित नेताहरूका मन्तव्य समेटिएका छन्।