एसियाली खेलकुदमा चीनको निरन्तर दबदबा

05 October, 2026 117 Views
एसियाली खेलकुदमा चीनको निरन्तर दबदबा
117

काठमाडौं । २०औँ आइची–नागोया एसियाली खेलकुदमा चीनले फेरि एकपटक पदक तालिकामा आफ्नो वर्चश्व देखाएको छ। प्रतियोगितामा चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी ३४१ पदक जित्दै पहिलो स्थानमा प्रतियोगिता टुंग्याएको हो।

आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेर दोस्रो स्थानमा रह्यो।

एसियाली खेलकुदमा चीनको शीर्ष स्थानमा रहने क्रम चार दशकभन्दा बढी समयदेखि निरन्तर छ। सन् १९८२ मा नयाँ दिल्लीमा भएको एसियाली खेलकुददेखि चीनले हरेक संस्करणमा पदक तालिकाको शीर्ष स्थान ओगट्दै आएको छ। त्यसअघि भने जापान महादेशीय खेलकुदको सबैभन्दा सफल टोली थियो।

चीनले एसियाली खेलकुदमा पहिलोपटक सन् १९७४ मा तेहरानमा सहभागिता जनाएको थियो। त्यतिबेला तेस्रो बनेको चीन १९७८ मा दोस्रो भयो। त्यसपछि भने उसले लगातार शीर्ष स्थानमा रहँदै आएको छ।

पदक संख्याका आधारमा पनि चीन एसियाली खेलकुदको सबैभन्दा सफल राष्ट्र हो। हालसम्म चीनले एक हजार ६७४ स्वर्ण, एक हजार १०५ रजत र ७९१ कांस्य गरी तीन हजार ५७० पदक जितेको तथ्यांक छ। चीनले सन् १९९०, २०१० र २०२२ मा एसियाली खेलकुद आयोजना गरिसकेको छ।

यद्यपि, यसपटक चीनको कुल पदक संख्या अघिल्लो संस्करणको तुलनामा घटेको छ। सन् २०२३ मा हाङझाउमा भएको १९औँ संस्करणमा चीनले २०१ स्वर्णसहित ३८३ पदक जितेको थियो। यसपटक ३२ स्वर्ण र २२ रजत कम जिते पनि १२ कांस्य पदक बढी जित्यो। समग्रमा अघिल्लो संस्करणभन्दा ४२ पदक कम रह्यो।

प्रतियोगितामा चीनका लागि युवा खेलाडीहरूले पनि उल्लेखनीय प्रदर्शन गरे। १३ वर्षीया पौडीबाज यु जिदीले तीन स्वर्ण पदक जितिन्।

चीनको खेलकुद सफलतामा राज्यको दीर्घकालीन नीति र ठूलो लगानीलाई महत्वपूर्ण मानिन्छ। विद्यालय तहबाटै प्रतिभा पहिचान गरी विशेष प्रशिक्षण दिने प्रणालीसँगै खेलाडीलाई आधुनिक प्रविधि, खेल विज्ञान, पोषण र पूर्वाधारको सुविधा उपलब्ध गराउने गरिएको छ।

जिम्न्यास्टिक, डाइभिङ, भारोत्तोलन, सुटिङ, टेबलटेनिस र ब्याडमिन्टनजस्ता धेरै पदकको सम्भावना भएका खेलमा चीनले विशेष ध्यान दिँदै आएको छ। यही योजनाबद्ध तयारी र लगानीको परिणाम एसियाली खेलकुददेखि ओलम्पिकसम्म चीनको प्रदर्शनमा देखिँदै आएको छ।

एसियाली खेलकुदमा १९८२ यता लगातार शीर्ष स्थानमा रहनुले चीनको खेलकुद प्रणाली र दीर्घकालीन रणनीतिको प्रभावलाई प्रस्ट देखाउँछ।

Related Post