फिफाद्वारा अखिल नेपाल फुटबल संघ (एन्फा) तत्काल लागु हुने गरी निलम्बित, नेपाली फुटबलमा ठूलो संकट

25 June, 2026 69 Views
फिफाद्वारा अखिल नेपाल फुटबल संघ (एन्फा) तत्काल लागु हुने गरी निलम्बित, नेपाली फुटबलमा ठूलो संकट
69
विश्व फुटबलको सर्वोच्च निकाय फिफा (FIFA) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल लागु हुने गरी अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले जुन २४, २०२६ मा फिफा विधानको धारा १४ र १६ को गम्भीर उल्लंघन भएको ठहर गर्दै यो कडा निर्णय लिएको हो।
 फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालको फुटबल प्रशासनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र अदालती प्रक्रिया लगायतका तेस्रो पक्षको राजनीतिक तथा बाह्य हस्तक्षेप  बढेको भन्दै यसअघि पटक-पटक चेतावनी दिँदै आएका थिए। एन्फाका महासचिव किरण राईका अनुसार फिफाले दिएको अन्तिम समयसीमाभित्र हस्तक्षेपकारी निर्णयहरू पूर्ण रूपमा फिर्ता नभएपछि अन्ततः नेपालमाथि यो प्रतिबन्ध लगाइएको हो।
यस निलम्बनसँगै नेपाली फुटबल इतिहासकै सबैभन्दा खराब संकटको मोडमा आइपुगेको छ। अब अर्को सूचना नआएसम्मका लागि एन्फाले फिफा सदस्यका रूपमा पाउने सबै प्रकारका अधिकार र आर्थिक कोषहरू गुमाएको छ। यो प्रतिबन्ध कायम रहुञ्जेल नेपालको राष्ट्रिय पुरुष तथा महिला फुटबल टोली र नेपाली क्लबहरूले फिफा र एएफसीद्वारा आयोजित कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। 
यसका साथै एन्फाका पदाधिकारी तथा सदस्यहरू फिफा र एएफसीका विकास कार्यक्रम, प्रशिक्षण वा शैक्षिक गतिविधिहरूबाट समेत पूर्ण रूपमा वञ्चित हुनेछन्। फिफाले यो निलम्बन हटाउनका लागि तेस्रो पक्षको हस्तक्षेप पूर्ण रूपमा अन्त्य हुनुपर्ने र फिफाका सर्तहरू पालना हुनुपर्ने स्पष्ट पारेको छ।

Related Post