गृहमन्त्री गुरुङ : सत्ता टिकाउन होइन, जनताको आशा पूरा गर्न सरकारमा आएका हौँ

गृहमन्त्री गुरुङ : सत्ता टिकाउन होइन, जनताको आशा पूरा गर्न सरकारमा आएका हौँ
19

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकार ठूला भाषण गर्न नभई जनताको आशा, अपेक्षा र सुशासनको सपना पूरा गर्न गठन भएको बताएका छन्।

नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित जेन–जी सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा युवाहरूले गरेको बलिदान र बगाएको रगत अझै पनि आफूहरूको स्मरणमा ताजै रहेको बताए।

सहिद परिवार र आन्दोलनका क्रममा घाइते भएकाहरूप्रति सरकार उत्तरदायी रहेको उल्लेख गर्दै गुरुङले आफूलाई मन्त्रीका रूपमा मात्र नभई सहिद परिवारको आफ्नै छोरा, भाइ वा दाइका रूपमा बुझ्न आग्रह गरे। जनताको विश्वास र आशालाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता जनाउँदै उनले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने बताए।

पुराना राजनीतिक दलहरूप्रति कडा टिप्पणी गर्दै उनले इतिहासलाई तोडमोड गर्ने तथा आन्दोलनको योगदानलाई अवमूल्यन गर्ने प्रयास नगर्न चेतावनी दिए। भदौ २३ को आन्दोलन सत्ता र शक्तिका लागि नभई देशमा सुशासन र परिवर्तनका लागि भएको उनको दाबी थियो।

वर्तमान सरकारको मुख्य उद्देश्य सत्ता टिकाउनु नभई जनताको सेवा गर्नु रहेको गुरुङले बताए। प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले गरेको विश्वास तथा जनताको अपेक्षालाई कमजोर हुन नदिने उनको भनाइ थियो।

भ्रष्टाचारविरुद्ध सरकार शून्य सहनशीलताको नीतिमा अघि बढ्ने बताउँदै उनले एक रुपैयाँसमेत भ्रष्टाचार भएको पाइए त्यसविरुद्ध आफू जनताको पक्षमा उभिने उद्घोष गरे।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै गुरुङले विगतमा सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाए। वर्तमान सरकारले सुरक्षा निकायलाई निष्पक्ष र व्यावसायिक रूपमा काम गर्ने वातावरण दिएको र सुरक्षाकर्मीलाई समेत न्याय दिलाउने उनले बताए।

युवा पुस्ताको नेतृत्वमा देशलाई नयाँ दिशातर्फ अघि बढाउने दाबी गर्दै गृहमन्त्री गुरुङले आगामी दिनमा भाषणभन्दा काममार्फत आफूहरूको क्षमता प्रमाणित गर्ने र जनताको विश्वास कहिल्यै नतोड्ने प्रतिबद्धता व्यक्त गरे।

Related Post