काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित पुलमुनिबाट प्रहरीले गोली हानेर पक्राउ गरेका २४ वर्षीय आयन माझीविरुद्ध २७ वटा डाँका चोरीका मुद्दा रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार राति पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि माझीमाथि गोली चलाएको थियो । उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर र एक राउन्ड गोली खुट्टामा प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए ।
सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका माझी लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनको गतिविधिमाथि निगरानी गरिरहेको टोलीले उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा माझीले पेस्तोल खरिद गरी लुटपाट गर्ने योजना बनाएको सूचना पाएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार तथा पेस्तोल खरिद गर्ने विषयमा समेत कुराकानी र डिल भएको प्रमाण फेला परेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको दाबी छ ।
‘जेनजी आन्दोलनमा लुटिएको पेस्तोल किन्नबारे गरिएको कुराकानी तथा प्रमाणसमेत फेला परेका छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘घरेलु हतियारको प्रयोग गर्दै लुटपाटमा संलग्न माझी पछिल्लो समय पेस्तोल खरिद गरेर थप लुटपाट गर्ने तयारीमा रहेको देखिन्छ।’
गोली लागेर घाइते भएका माझीको अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
माझी पक्राउ परेपछि उनको समूहमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ का २६ वर्षीय मनोजकुमार मोक्तान र बकैया–५ का ३४ वर्षीय राकेश थिङ छन् ।
प्रहरीका अनुसार थिङ मोटरसाइकलको पछाडि बसेर लुटपाटमा संलग्न हुन्थे भने मोक्तान मोटरसाइकल चलाउने व्यक्ति हुन् । उनीहरूलाई प्रहरी वृत्त ठिमीले कुटपिटसम्बन्धी कसुरमा पक्राउ गरेको हो । उनीहरूमाथि डाँका चोरीमा समेत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रहरीले माझीलाई उक्त समूहको योजनाकार तथा नाइकेको रूपमा चिनाएको छ ।
२४ वर्षमै २७ वटा मुद्दा
प्रहरीका अनुसार कलंकीको ढुंगेअड्डामा बस्दै आएका माझीविरुद्ध हालसम्म २७ वटा मुद्दा दर्ता भएका छन् । उनको आपराधिक गतिविधि २०७७ सालबाट सुरु भएको प्रहरीको भनाइ छ ।
२०७७ सालमा चोरी तथा डाँका कसुरमा तीन महिना कैद भुक्तान गरेका माझीलाई अर्को मुद्दामा अदालतले थप ६ महिना कैद सजाय सुनाएको थियो । उक्त सजाय भुक्तान नगरी फरार रहेका उनी पछि तोकिएको थप तीन महिनासहितको कैद सजाय भुक्तान गरी २०८२ वैशाखमा कारागारबाट छुटेका थिए ।
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार माझीविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा २०७९ भदौ २६ गते डाँका चोरीको मुद्दा दर्ता भएको थियो । त्यसपछि भक्तपुरमै २०७९ असोज ११ गते दुईवटा तथा इलाका प्रहरी कार्यालय बनेपामा असोज २३ गते अर्को डाँका चोरीको मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ ।
त्यसपछि २०८२ माघ र फागुनमा काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा उनीविरुद्ध डाँका चोरीका थप मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौं परिसरमा मात्रै माघ २० गते नौवटा, माघ २१ गते दुईवटा तथा अन्य मितिमा समेत गरी थुप्रै मुद्दा दर्ता भएका छन् । ठिमी वृत्तबाट पनि फागुन ११ गते दुईवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा पनि लुटपाट गरेको प्रहरीको दाबी
प्रहरीका अनुसार माझी जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकामा भएको लुटपाटमा समेत संलग्न थिए । करिब नौ महिनाअघि तीनवटा मोटरसाइकलमा तीन–तीन जना सवार भई सार्वजनिक स्थानमा हिँडिरहेका व्यक्तिलाई लुट्ने समूह सक्रिय भएको र माझी उक्त समूहको नेतृत्वमा रहेको प्रहरीको दाबी छ ।
त्यतिबेला प्रहरीले माझीसहित समूहका १० जनालाई पक्राउ गरी डाँका चोरीको मुद्दा चलाएको थियो । पछि धरौटीमा छुटेका माझी पुनः लुटपाटमा संलग्न भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार बिहान मर्निङवाकमा निस्किएका व्यक्तिलाई बाटो सोध्ने बहाना बनाएर लुट्ने, मोटरसाइकलमा आएर सिक्री थुत्ने तथा लुटपाटपछि तत्काल फरार हुने गरेको पाइएको छ । त्यस्तै, इन्ड्राइभ र पठाओको बहाना बनाएर राति तथा बिहानको समयमा समेत लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।
यो समूहका चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार समूहले सिक्री थुत्ने, मोटरसाइकल चोरी गर्ने र चोरीका मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने गरेको थियो । चोरीका मोटरसाइकलको नम्बर प्लेटसमेत परिवर्तन गरेर प्रयोग गर्ने गरेको पाइएको छ । हालसम्म १५ वटा मोटरसाइकल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।
एक साताअघि पनि लुटपाट
प्रहरीका अनुसार उक्त समूहले एक साताअघि पनि काठमाडौंका विभिन्न स्थानमा लुटपाट गरेको थियो ।
असोज १४ गते राति करिब साढे १ बजे तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई बौद्ध गेट नम्बर २ मा ४/५ जनाको समूहले रोकेर नगद दुई लाख रुपैयाँ तथा कागजात लुटेको प्रहरीले जनाएको छ ।
त्यसअघि असोज १३ गते राति साढे ११ बजे काठमाडौंको डल्लुमा पनि लुटपाट भएको थियो । रमेश खड्गीले चलाएको बागमती प्रदेश ०१–०२९ च ९०६० नम्बरको बीवाईडी कारमा बसिरहेका बेला उनको गलाको साढे तीन तोलाको सिक्री लुटेर समूह फरार भएको प्रहरीको भनाइ छ ।
प्रहरीले लुटपाटमा प्रयोग गरिएको दुईवटा मोटरसाइकल, एउटा खुकुरी, लुटपाटका क्रममा प्रयोग भएका कपडा तथा फरक–फरक पाँचवटा नम्बर प्लेट बरामद गरेको जनाएको छ ।