काठमाडौं । काठमाडौँ र झापाबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट १०२ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का २९ वर्षीय दिपेश थापा र बझाङको सुर्मा गाउँपालिका–३ का २६ वर्षीय सञ्जय बोहरा रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले शुक्रबार ना.५७ प ७५०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको थियो।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ बाट ९०० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय भुपेश उराव पक्राउ परेका छन्। सोही स्थानका बासिन्दा उरावलाई शुक्रबार दिउँसो अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले पक्राउ गरेको हो।
तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।