वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्न ओलीको प्रस्ताव, जनप्रतिनिधिलाई तयारीमा जुट्न निर्देशन

वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्न ओलीको प्रस्ताव, जनप्रतिनिधिलाई तयारीमा जुट्न निर्देशन
43

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता गर्नुपर्ने धारणा राखेका छन् । जनप्रतिनिधिहरूले संविधानले तोकेको पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै उनले वैशाख अन्तिममा निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगमा एमालेले यही धारणा प्रस्तुत गरेको जानकारी दिए । फागुन वा चैतमा निर्वाचन गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।

ओलीले निर्वाचनको मिति अघि सार्दा वा पछि सार्दा कसलाई फाइदा पुग्छ भन्ने राजनीतिक हिसाबकिताबभन्दा संविधानको व्यवस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पाँच वर्षे कार्यकालको संवैधानिक व्यवस्था भएकाले सोही अवधिअनुसार निर्वाचन हुनुपर्ने उनको तर्क थियो ।

उनले संविधानको एउटा व्यवस्था मिच्न सहमति दिँदा त्यसैलाई आधार बनाएर सरकारले अन्य संवैधानिक व्यवस्था उल्लंघन गर्ने बाटो खुल्न सक्ने चेतावनीसमेत दिए ।

अध्यक्ष ओलीले पार्टीका जनप्रतिनिधिहरूलाई आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै जनताको साथ लिएर अघि बढ्न आग्रह गरे । साथै, पार्टीभित्र अन्तरघात गर्ने र पार्टी नछाडे पनि चुनावमा मत बदल्ने प्रवृत्तिलाई एमालेले स्वीकार नगर्ने चेतावनी दिए ।

Related Post