१४ जीवन बीमा कम्पनीको नाफा १३ प्रतिशत घट्यो, २ कम्पनी घाटामा

१४ जीवन बीमा कम्पनीको नाफा १३ प्रतिशत घट्यो, २ कम्पनी घाटामा
34

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १४ जीवन बीमा कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणले बीमा क्षेत्रको नाफामा गिरावट देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरूको औसत खुद नाफा १३.१० प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा १४ कम्पनीको औसत खुद नाफा ११ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नाफा औसत १३ करोड ४८ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा चार कम्पनीले मात्रै नाफा बढाउन सफल भएका छन् भने आठ कम्पनीको नाफा घटेको छ । दुई लघु जीवन बीमा कम्पनी भने घाटामा देखिएका छन् ।

खुद नाफाको आकारका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले गत वर्षको तुलनामा २.३६ प्रतिशत नाफा बढाउँदै २४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा ११.३९ प्रतिशत गिरावट बेहोरेको छ । एसियन लाइफले १६ करोड १३ लाख र सानिमा रिलायन्स लाइफले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

नाफा वृद्धिदरमा भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैलाई पछि पारेको छ । कम्पनीको खुद नाफा ४५.८९ प्रतिशतले वृद्धि हुँदै ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

यसको विपरीत नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४०.३५ प्रतिशतले घटेर १२ करोड ८५ लाख रुपैयाँमा झरेको छ । सिटिजन लाइफ, हिमालयन लाइफ, सूर्यज्योति लाइफ, आइएमई लाइफ, नेसनल लाइफ र एलआइसी नेपालको नाफामा समेत गिरावट आएको छ ।

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफले २ करोड ५१ लाख रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ८७ लाख रुपैयाँ घाटा व्यहोरेका छन् ।

कम्पनीहरूको चुक्ता पुँजीमा भने सामान्य वृद्धि देखिएको छ । औसत चुक्ता पुँजी ५१७ करोड रुपैयाँ पुगेको छ । नेपाल लाइफको चुक्ता पुँजी सबैभन्दा बढी ९४८ करोड रुपैयाँ रहेको छ भने हिमालयन लाइफको ९१४ करोड रुपैयाँ छ ।

तर, कम्पनीहरूको औसत जगेडा कोषमा १२.८३ प्रतिशतको गिरावट आएको छ । गत वर्षको तुलनामा घटेर औसत जगेडा कोष १५६ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । जगेडा कोषको आकारका आधारमा एलआइसी नेपाल ४४० करोड रुपैयाँसहित अगाडि छ ।

जगेडा कोष वृद्धिमा सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफले क्रमशः ७२.३४ प्रतिशत र २६.७० प्रतिशतको सुधार गरेका छन् । यता, हिमालयन लाइफको जगेडा कोष भने २९६.०५ प्रतिशतले घटेर १०१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक बनेको छ ।

प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत उल्लेख्य गिरावट देखिएको छ । कम्पनीहरूको औसत ईपीएस २६.५३ प्रतिशतले घटेर ७.३३ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा औसत ईपीएस ९.९७ रुपैयाँ थियो ।

ईपीएसका आधारमा सन नेपाल लाइफ १८.५५ रुपैयाँसहित पहिलो स्थानमा छ । रिलायबल नेपाल लाइफको १७.६३ रुपैयाँ र एसियन लाइफको १२.२९ रुपैयाँ ईपीएस रहेको छ । प्रभु महालक्ष्मी लाइफले भने आफ्नो ईपीएस ४५.७४ प्रतिशतले बढाएर ७.०१ रुपैयाँ पुर्‍याएको छ । गार्डियन र क्रेस्ट माइक्रो लाइफको ईपीएस ऋणात्मक रहेको छ ।

त्यस्तै, कम्पनीहरूको औसत प्रतिसेयर नेटवर्थ २.७४ प्रतिशतले घटेर १२९.३२ रुपैयाँमा झरेको छ । एलआइसी नेपालको नेटवर्थ सबैभन्दा बढी १८०.१२ रुपैयाँ रहेको छ भने हिमालयन लाइफको सबैभन्दा कम ८८.९१ रुपैयाँ छ ।

समग्र वित्तीय विवरणले जीवन बीमा क्षेत्रमा नाफा, प्रतिसेयर आम्दानी र जगेडा कोषमा दबाब बढेको संकेत गरेको छ । नाफाको आकारमा सन नेपाल लाइफले अग्रता कायम राख्दा नाफा वृद्धिदरमा प्रभु महालक्ष्मी लाइफ सबैभन्दा अगाडि देखिएको छ ।

Related Post