ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे, लिङदेनलाई सर्वोच्च नेता बनाउन प्रस्ताव

ज्ञानेन्द्र शाहीले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे, लिङदेनलाई सर्वोच्च नेता बनाउन प्रस्ताव
46

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले पार्टीमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेताका रूपमा स्थापित गर्न प्रस्ताव गर्दै नेतृत्वमा युवा पुस्तालाई अवसर दिनुपर्ने बताए । अग्रज नेताहरूको अनुभव र सम्मानलाई कायम राख्दै युवाको नेतृत्व स्थापित गर्न आफू अघि बढेको उनको भनाइ छ ।

शाहीले राप्रपालाई सीमित चुनावी उपलब्धि र सत्ता समीकरणमा केन्द्रित नराखी बलियो राष्ट्रवादी राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । सांसद र सत्ता प्राप्तिका लागि कहिले एमाले, कहिले माओवादी र कहिले कांग्रेससँग गठबन्धन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको धारणा छ ।

पार्टीलाई विभाजनबाट जोगाउँदै एकताबद्ध बनाउन संगठनात्मक सुधार र नयाँ नेतृत्व आवश्यक रहेको उनले बताए । महाधिवेशनबाट नेतृत्व परिवर्तन र पुस्तान्तरण हुन नसके राप्रपाले थप राजनीतिक क्षति व्यहोर्नुपर्ने चेतावनीसमेत उनले दिए ।

‘हामी अग्रजलाई हटाउन होइन, उहाँहरूको सम्मान गर्दै युवाको नेतृत्व सुनिश्चित गर्न आएका हौँ,’ शाहीले भने, ‘राप्रपा अब दुई–चार सिट जित्ने र सत्ता समीकरणमा बार्गेनिङ गर्ने पार्टीका रूपमा सीमित हुनु हुँदैन ।’

राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ ।

 

Related Post