काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा फरक–फरक समयमा गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच थप सहमति आवश्यक रहेको बताएका छन् ।
निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग गरेको छलफलमा सहभागी हुँदै प्रचण्डले संविधान र कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका हुन् ।
उनले विगतमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक तथा छुट्टाछुट्टै समयमा समेत सम्पन्न भएको स्मरण गराउँदै स्थानीय तह र प्रदेशसभाको निर्वाचनबारे पनि दलहरूबीच सहमति खोज्नुपर्ने बताए ।
प्रचण्डले निर्वाचनको मिति केही समय अगाडि वा पछाडि हुनु भन्दा निर्वाचित जनप्रतिनिधिले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न पाउने व्यवस्था सुनिश्चित गर्नु महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उनका अनुसार दुवै तहका जनप्रतिनिधिले पूरा कार्यकाल काम गर्न पाउने विषयलाई प्राथमिकतामा राखेर निर्वाचनको ढाँचा र समयबारे निर्णय गर्नुपर्छ ।
निर्वाचन एकैपटक गर्ने वा अलग-अलग गर्ने भन्ने विषयमा सबै राजनीतिक पक्षसँग थप छलफल गरी आगामी बैठकबाट निष्कर्षमा पुग्ने सहमति भएको पनि प्रचण्डले जानकारी दिए ।