काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यले सुम्पिएको गोपनीयता भंग गरी संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन्। सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाललाई गोप्य सूचना चुहाएको आरोपमा निलम्बन गरिएको घटनापछि गृहमन्त्री गुरुङले यस्तो बताएका हुन्।
गृह मन्त्रालयले सोमबार साँझ गोप्य सूचना चुहाएको आरोपमा एआइजी दाहाललाई निलम्बन गरेको थियो। उनीमाथि छानबिन गर्न समिति समेत गठन गरिएको छ।
निलम्बनको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन्।
‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,’ उनले लेखेका छन्।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय मर्यादा भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको समेत बताएका छन्।
उनले यस्तो प्रवृत्तिलाई रोक्न जिम्मेवार पदमा रहेका व्यक्तिहरूले आफ्नो पदीय दायित्व र गोपनीयताको मर्यादा कायम गर्नुपर्नेमा जोड दिएका छन्।