89
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङगिलुङ खोलामा आएको बाढी बूढीगण्डकीमा मिसिएपछि चार जना सम्पर्कविहीन भएका छन् । बाढीले खोला किनारमा रहेका चार वटा गोठ र त्यहाँ बाँधिएका १५ वटा याक तथा नाकसमेत बगाएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का अनुसार गोठमा रहेका पशुको हेरचाहमा खटिएका चार जना पनि सम्पर्कमा आउन सकेका छैनन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोलाको पुल बगाएको छ । बाढीका कारण माछीखोला बजारमा समेत क्षति पुगेको छ ।
त्यसैगरी, आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बाढीले बगाएको छ । बाढीबाट भएको क्षति र सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।