जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउने राजगुठीको सातदिने सूचनाको स्थानीयबासीले विरोध गरेका छन्।
राजगुठीले पोखरी तथा डिल क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाउन र जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन्।
स्थानीयबासीले विवादित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै सूचना तत्काल पुनरवलोकन गर्न माग गरेका छन्। उनीहरूले जग्गाको स्वामित्व, नापी तथा कानुनी अवस्थाबारे आवश्यक छानबिन नगरी एकतर्फी रूपमा जग्गा खाली गराउने सूचना जारी गरिएको बताएका छन्।
मंगलबार सूचनाको विरोधमा स्थानीयले जनकपुरधामको पिडारी चोकमा चक्काजामसहित प्रदर्शन गरेका छन्। चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो।
प्रदर्शनकारीले जग्गाको वास्तविक स्वामित्व र अधिकार यकिन गरी कानुनी प्रक्रिया पूरा गरेपछि मात्र कुनै निर्णय लिनुपर्ने बताएका छन्। उनीहरूले सम्बन्धित निकायसँग तत्काल छलफल गरी विवादित जग्गाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
आफ्ना माग बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत स्थानीयले दिएका छन्।