ग्यास अभाव बढेको भन्दै बिक्रेता महासंघले निगमको ध्यानाकर्षण गरायो

06 October, 2026 96 Views
ग्यास अभाव बढेको भन्दै बिक्रेता महासंघले निगमको ध्यानाकर्षण गरायो
96

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको र उपभोक्ता समस्यामा परेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।

महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न र डिलरमार्फत मात्र ग्यास वितरण गर्ने व्यवस्था गर्न माग गरेको हो।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारको आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै अहिलेको ग्यास अभावको प्रमुख कारण रहेको बताएका छन्। तर, उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।

महासंघले अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा नयाँ आकारका सिलिन्डर बिक्री गर्ने योजना अघि बढाइएको भन्दै त्यसप्रति समेत असन्तुष्टि जनाएको छ।

ग्यास वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन उद्योगबाट हुने खुद्रा बिक्री रोक्न, सरोकारवालासँग छलफल गरी सहज आपूर्तिको व्यवस्था मिलाउन तथा उपभोक्ताले प्रयोग गर्दै आएको १४.२ किलोको सिलिन्डरको उचित व्यवस्थापन गर्न महासंघले निगमसँग माग गरेको छ।

Related Post