काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ तथा सुकिला नोट सटही नगर्ने भएको छ।
हालैको बाढीपहिरो तथा भारी वर्षाबाट भएको क्षतिलाई ध्यानमा राख्दै राष्ट्र बैंकले आवश्यकताका आधारमा मात्रै नयाँ तथा सुकिला नोट वितरण गर्ने जनाएको हो।
मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दहालका अनुसार सर्वसाधारणले नियमित सटही काउन्टरबाट आवश्यकताअनुसार नयाँ तथा सुकिला नोट लिन सक्नेछन्। बैंक तथा वित्तीय संस्थामार्फत पनि ग्राहकलाई नोट वितरण भइरहेको छ।
राष्ट्र बैंकले दशैंमा विगतको मागलाई आधार मान्दै यस वर्ष करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरका साना दरका नोट बजारमा जाने अनुमान गरेको छ।
दशैंमा मुख्य रूपमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको माग हुने गरेको छ। बाढीपहिरोबाट ठूलो क्षति भएको अवस्थामा खर्च व्यवस्थापनलाई ध्यान दिँदै आवश्यकता केन्द्रित रूपमा नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।