काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सामान्य रहेको भन्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । मन्त्रालयले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने र सूचना दिनेलाई पुरस्कृत गर्ने जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले सामान्य अवस्थाको दैनिक १ लाख १० हजार सिलिन्डरको तुलनामा अहिले दैनिक १ लाख ३२ हजार सिलिन्डर बजारमा वितरण भइरहेको जानकारी दिए ।
नेपाल आयल निगमले आधा सिलिन्डरको सट्टा पूर्ण क्षमताको सिलिन्डर वितरण गर्न थालेपछि माग बढेकाले केही असहजता देखिएको मन्त्रालयले जनाएको छ । हाल मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास आयात भइरहेकोमा आगामी तीन महिनाका लागि ६० हजार मेट्रिक टन पुर्याउन भारतसँग पहल भइरहेको छ ।
ग्यास वितरणलाई व्यवस्थित बनाउन उद्योगदेखि डिपोसम्मको दैनिक विवरण संकलन गर्न थालिएको छ । दीर्घकालीन रूपमा जिआइएस म्याप र क्युआर प्रणालीमार्फत ग्यासको स्टक तथा आवागमन निगरानी गर्ने तयारी गरिएको छ ।
नियमित वितरकबाट ग्यास नपाएका उपभोक्ताका लागि टेकुलगायत स्थानमा वैकल्पिक वितरणको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । साथै, वृद्धवृद्धा, अशक्त, सुत्केरी तथा एउटा मात्र सिलिन्डर भएका उपभोक्तालाई प्राथमिकता दिन बिक्रेतालाई निर्देशन दिइएको छ ।
मन्त्रालयका अनुसार विद्युतीय चुलोको प्रयोग पनि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा करिब १० हजार इन्डक्सन आयात भएकोमा पछिल्लो वर्ष ३ लाख ८२ हजारभन्दा बढी आयात भएको छ ।