घाइते भएर पनि १७४ जनाको ज्यान जोगाए, स्मितलाई नेतन्याहुको निम्तो

04 October, 2026 185 Views
घाइते भएर पनि १७४ जनाको ज्यान जोगाए, स्मितलाई नेतन्याहुको निम्तो
185

काठमाडौं । फ्लाई दुबईका भारतीय क्याप्टेन स्मित मच्छारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आगामी इजरायली स्वतन्त्रता दिवसको विशेष समारोहमा सहभागी हुन निम्तो दिएका छन्।

नेतन्याहुले मच्छारसँग टेलिफोन कुराकानी गर्दै उनलाई स्वतन्त्रता दिवसको समारोहमा ‘उत्सवको ज्योति बाल्न’ निम्तो दिएका हुन्। उनले मच्छारलाई इजरायल, भारत र सम्पूर्ण विश्वकै नायक भन्दै उनको साहसको प्रशंसा गरे।

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको उडान नम्बर एफजेड–१०७३ को बोइङ ७३७ म्याक्स–८ विमानमा ककपिटमै सहपाइलटले क्याप्टेन मच्छारमाथि ‘क्र्यास एक्स’ नामक आपत्कालीन औजारले आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका मच्छारको दृष्टिसमेत केही समय धमिलो भएको थियो।

तर, विमान तीव्र रूपमा तल झरिरहेको महसुस भएपछि उनले बाँकी शक्ति प्रयोग गर्दै ककपिटको ढोका खोले। त्यसपछि चालक दलका अन्य सदस्यले ककपिटमा प्रवेश गरी विमानको नियन्त्रण सम्हाल्न सहयोग गरेका थिए। मच्छारले विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराएका थिए।

विमानमा चालक दलसहित १७४ जना सवार थिए र सबैको ज्यान जोगिएको बताइएको छ। घटनापछि क्याप्टेन मच्छारको साहस र तत्काल निर्णय क्षमताको विश्वभर प्रशंसा भइरहेको छ।

टेलिफोन संवादमा नेतन्याहुले मच्छारलाई शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दै श्रीमती र छोराछोरीसहित इजरायल आउन आग्रह गरे। उनले मच्छारलाई इजरायली स्वतन्त्रता दिवसमा विशेष सम्मानस्वरूप ‘उत्सवको ज्योति बाल्ने’ अवसर दिने बताए।

नेतन्याहुका अनुसार यस्तो सम्मान सामान्यतया इजरायली नागरिकका लागि मात्र आरक्षित हुन्छ। तर, मच्छारले देखाएको असाधारण साहस र १७४ जनाको ज्यान जोगाउन खेलेको भूमिकाको सम्मानमा उनलाई विशेष रूपमा निम्त्याइएको हो।

कुराकानीका क्रममा मच्छारले आफूलाई सहपाइलटले पछाडिबाट आक्रमण गरेको, त्यसपछि आफूले ककपिटको ढोका खोल्न सफल भएको र बाहिर रहेका चालक दलका सदस्यले विमानको नियन्त्रण सम्हालेको घटनाबारे नेतन्याहुलाई जानकारी गराएका थिए।

मच्छारले आफू क्रमशः स्वास्थ्यलाभ गरिरहेको बताउँदै नेतन्याहुको निम्तो स्वीकार गर्दै उनलाई भेट्न आतुर रहेको बताएका छन्।

Related Post