हाइज्याक अलर्टपछि आकाशमै हंगामा, पाइलटबीच झडप; फ्लाइदुबई साउदीमा

30 September, 2026 141 Views
हाइज्याक अलर्टपछि आकाशमै हंगामा, पाइलटबीच झडप; फ्लाइदुबई साउदीमा
141

काठमाडौं । उडिरहेको विमानमा एकाएक हाइज्याकको संकेत बज्यो, विमान हजारौँ फिट तल झर्‍यो, इजरायली लडाकु विमान आकाशमा उडाइए—केहीबेर विश्वकै नजरमा परेको फ्लाइदुबईको विमान अन्ततः साउदीमा सुरक्षित अवतरण गरेको छ।

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमानमा उडानका क्रममा असामान्य घटना भएपछि साउदी अरबको ताबुक विमानस्थलमा डाइभर्ट गरिएको हो।

फ्लाइदुबईको FZ1073 उडानले ७५०० कोड प्रसारण गरेपछि विमान अपहरणमा परेको आशंका गरिएको थियो। त्यसपछि इजरायलले सुरक्षा सतर्कता बढाउँदै लडाकु विमानलाई समेत तयारी अवस्थामा राखेको थियो।

उडान ट्र्याकिङ विवरणअनुसार विमानले छोटो समयमा आफ्नो उचाइ उल्लेख्य रूपमा घटाउँदै निर्धारित मार्ग परिवर्तन गरी साउदी अरबतर्फ मोडिएको थियो।

तर इजरायली अधिकारीहरूका अनुसार यो हाइज्याकको घटना नभई ककपिटमा दुई पाइलटबीच भएको झडपका कारण उत्पन्न भएको थियो। घटनाको कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

विमान ताबुकमा सुरक्षित अवतरण गरेको र त्यसमा सवार सबै यात्रु तथा चालक दल सुरक्षित रहेको फ्लाइदुबईले जनाएको छ। घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

Related Post