74
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नो सरकारी निवास परिसरभित्रै हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना बढेको थियो।
सोही भिडियो र नागरिकहरूको गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालय, कैलालीको ट्राफिक प्रहरी टोली बिहीबार मुख्यमन्त्री निवासमै पुगेर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ५०० रुपैयाँ जरिवानाको चीट थमाएको हो।
केही समययता स्वास्थ्य समस्याका कारण दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्रीले साँझपख बिना हेल्मेट मोटरसाइकल गुडाएको दृश्य उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले टिकटक अकाउन्टमार्फत सार्वजनिक गरेका थिए।
कारबाही भोगेपछि मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको सहर्ष स्वीकार गर्दै कानुनको नजरमा कोही पनि सानो-ठूलो नहुने प्रतिक्रिया दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने र नियमअनुसार कारबाही गर्न आफूले नै ट्राफिक प्रहरीलाई आग्रह गरेको स्पष्ट पारे।
निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गरेकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिँदै उनले सम्पूर्ण आम नागरिकहरूलाई समेत अनिवार्य रूपमा ट्राफिक नियमको पालना गर्न अपिल गरेका छन्। देशका उच्च पदस्थ व्यक्तित्वलाई नै निवासमै पुगेर कारबाही गरिएको यो घटनालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विधिको शासनको एक सकारात्मक उदाहरण भन्दै प्रशंसा गरिरहेका छन्।