हुप्सेकोटको पहिरो प्रभावित क्षेत्रमा ड्रोन मार्फत छरियो अम्रिसोको बिउ

16 August, 2026 15 Views
हुप्सेकोटको पहिरो प्रभावित क्षेत्रमा ड्रोन मार्फत छरियो अम्रिसोको बिउ
15

 

काठ्माडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ स्थित राम्चे बस्तीमा पछिल्लो चार दशकभन्दा  पहिला देखी निरन्तर रुपमा पहिरो जाँदै आएको छ । बर्षेनी जाने गरेको पहिरोले यस क्षेत्रमा अहिले जमिन चिराचिरा परेको छ । सडक र बस्ती भासिएर बस्नलायक छैन । आर्थिक अवस्था कमजोर भएकाहरू जोखिम मोलेरै बसिरहेका छन् भने सक्नेहरू अन्यत्र बसाइँ सरेका छन् ।

राम्चेका पलबहादुर राई मगर ६५ वर्ष पुगे । उनलाई यहाँ स–साना पहिरो झर्ने गरेको सानैदेखिको सम्झना छ। केरुङ्गे खोलाको मुहान क्षेत्र भएकाले खोलाकै कारण पहिरो गएको होला भन्ने स्थानीयलाई लाग्थ्यो । तर पछिल्लो ४० वर्षयता जमिनको तल्लो भागमा कटान हुने र त्यसपछि बिस्तारै माथिल्लो भागबाट पहिरो खस्ने गरेको उनले बताए । ‘यो पहिरो नियन्त्रणको काम धेरै अगाडि सुरु हुनुपर्ने थियो । दुर्गम बस्ती भएकाले कसैले पनि ध्यान दिएनन्,’ मगरले भने, ‘अहिले बस्ती नै चिराचिरा परेको छ । कुन दिन पहिरोले गाउँ नै लैजाने हो भन्ने चिन्ता छ ।’

महाभारत पर्वत शृंखलामा पर्ने यो क्षेत्रमा पहिरोको जोखिम बढेपछि नियन्त्रणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले विभिन्न समयमा अध्ययन गरे पनि ठूलो बजेट आवश्यक पर्ने भएकाले रोकथामको काम अघि बढ्न सकेको छैन ।

ठूलो पहिरो रोक्न नसके पनि नियन्त्रण तथा व्यवस्थापनका लागि ड्रोन प्रविधिको प्रयोग गरी आकाशबाट बीउ छर्ने (एरियल सिडिङ) काम सुरु गरिएको छ । आधुनिक संरचना निर्माणमा अत्यधिक बजेट लाग्ने भएपछि विकल्पका रूपमा नयाँ प्रविधि प्रयोग गरिएको हो ।यो क्षेत्र अम्रिसो खेतीका लागि प्रसिद्ध छ । तर जमिन चिरा परेका कारण मानिसले खेती लगाउन सक्ने अवस्था छैन । अम्रिसोको जराले माटोलाई समाउने र भूक्षय कम गर्ने उद्देश्यले ड्रोनको प्रयोग गरिएको हो ।

ड्रोनमार्फत पहिरो प्रभावित क्षेत्रमा अम्रिसोको बीउका साथै जैविक मल र ट्राइकोडर्मा (जैविक ढुसी) मिसाएर आकाशबाट छरिएको प्रकृतिमा आधारित त्रि–लाभ कार्यक्रमका संयोजक शिव सुवेदीले बताए । राम्चेको पहिरोले स्थानीय बस्ती र विद्यालयलाई निरन्तर जोखिममा पारिरहेको छ । एउटा विद्यालय र वरपरका बस्ती विस्थापित हुने जोखिममा छन् । ठूला भौतिक संरचना बनाउन बजेटको अभाव भइरहेका बेला नयाँ प्रविधि पालिकाका लागि लाभदायक हुने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
अम्रिसोको जराले माटोलाई बलियोसँग समातेर राख्ने भएकाले जैविक विधिबाट पहिरो नियन्त्रण गर्न यो उपयुक्त मानिन्छ । ड्रोनको प्रयोगले छोटो समयमै ठूलो र दुर्गम क्षेत्रमा बीउ छर्न सम्भव बनाएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।


नारायणी नदी जलाधार क्षेत्रअन्तर्गत नवलपुरको केरुङ्गे र चितवनको खगेरी खोला जलाधारमा विगत चार वर्षदेखि विश्व वन्यजन्तु कोषको सहयोगमा ‘प्रकृतिमा आधारित समाधान त्रि–लाभ कार्यक्रम’ ले यस्ता कार्यक्रम गर्दै आएको छ ।
यो पहिरोले हुप्सेकोटको बस्ती मात्र होइन, नवलपुरको सदरमुकाम कावासोतीलाई समेत जोखिममा पारेको छ । खोलामार्फत पहिरो तल्लो तटीय क्षेत्रमा आएर डुबान र भूमिगत जलस्रोतका मुहान सुक्ने जोखिम बढेको भूगर्भविद्को भनाइ छ । हुप्सेकोटमा मात्र ४० हेक्टर क्षेत्रफल पहिरोको जोखिममा रहेको छ । 

Related Post