काठमाडौं । देशका अधिकांश क्षेत्रमा आज पनि मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा तथा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरोधको जोखिम बढेको छ।
यसैबीच, पृथ्वी राजमार्गको चितवनस्थित सिमलधारामा खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको छ। पहिरोका कारण केही समय नारायणगढ–काठमाडौं सडकखण्डमा यातायात प्रभावित भएको थियो।
वर्षाका कारण काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा समेत यातायात प्रभावित हुन सक्ने जोखिम छ।
यात्राका क्रममा सडकको अवस्था बुझेर मात्र हिँड्न र पहिरो तथा बाढीको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। मनसुनका कारण बीपी राजमार्गसहित पहाडी सडकमा पनि पहिरोको जोखिम कायमै रहेकाले यात्रुले सतर्कता अपनाउनुपर्ने देखिएको छ।