कांग्रेसको देउवा समूहको भेलामा निधि र महतबीच भनाभन

16 August, 2026 64 Views
कांग्रेसको देउवा समूहको भेलामा निधि र महतबीच भनाभन
64

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा समूहको राष्ट्रिय भेलाको समापनका क्रममा नेताहरू विमलेन्द्र निधि र डा. प्रकाशशरण महतबीच भनाभन भएको छ। निर्णय सार्वजनिक गर्ने क्रममा दुई नेताबीच मञ्चमै विवाद हुनुका साथै निर्णयको कागजसमेत खोसाखोस भएको बताइएको छ।

काठमाडौंको सुकेधारामा आयोजित भेलाको अन्तिम दिन निर्णय सुनाउने क्रममा विवाद भएको हो। बन्दसत्रपछि तयार पारिएको राजनीतिक तथा सांगठनिक निर्णय वाचन गर्ने क्रममा निधि र महतबीच केही विषयमा कुरा नमिलेपछि भनाभन भएको बताइएको छ।

भेलामा विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै विशेष महाधिवेशन अवैध रहेको र आगामी १५औँ महाधिवेशन शेरबहादुर देउवाकै अध्यक्षतामा हुनुपर्ने धारणा राखेका थिए। त्यस्तै, डा. प्रकाशशरण महतले आर्थिक तथा सामाजिक नीतिसम्बन्धी कार्यदिशा प्रस्तुत गरेका थिए।

निर्णयको मस्यौदामा समेटिएका विषय र त्यसको स्वामित्वलाई लिएर दुई नेताबीच विवाद भएको बताइएको छ। देउवा समूहले पार्टीभित्रको शक्ति सन्तुलन देखाउन राष्ट्रिय भेला आयोजना गरे पनि समापनकै क्रममा आफ्नै समूहका दुई शीर्ष नेताबीच विवाद देखिएपछि संस्थापन पक्षभित्रको आन्तरिक मतभेदसमेत सतहमा आएको छ।

Related Post