हस्तकला उद्योगका समस्या र निर्यात प्रवर्द्धनबारे प्रधानमन्त्रीसँग महासंघको भेट

22 July, 2026 170 Views
हस्तकला उद्योगका समस्या र निर्यात प्रवर्द्धनबारे प्रधानमन्त्रीसँग महासंघको भेट
170

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुने भएको छ।

बिहान ११:३० बजे तय गरिएको उक्त भेटवार्तामा नेपालको हस्तकला क्षेत्रको विस्तार, विकास तथा प्रवर्द्धनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। छलफलका क्रममा हस्तकला उद्योगले भोगिरहेका विभिन्न समस्या, नेपाली हस्तकलाको निर्यात प्रवर्द्धन गर्ने उपाय, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा सरकारी सहयोग र नीतिगत सुधारका विषयमा विचार-विमर्श हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष हस्तकला निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।

महासंघले हस्तकला उद्योगको संरक्षण, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा निर्यात विस्तारका लागि आवश्यक सरकारी सहजीकरण र नीतिगत सहयोगको अपेक्षा राख्दै प्रधानमन्त्रीसँग छलफल गर्न लागेको जनाएको छ।

Related Post