काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउन सरकारले प्राविधिक, संस्थागत तथा कूटनीतिक पहललाई प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद निश्कल राईको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले सन् २०१३ देखि कायम रहेको हवाई सुरक्षा सम्बन्धी अवरोध हटाउन सरकारले आवश्यक सुधारमा काम गरिरहेको जानकारी दिए।
उनका अनुसार ईयूले सन् २०२३ सेप्टेम्बरमा गरेको स्थलगत उडान सुरक्षा मूल्यांकनका निष्कर्ष कार्यान्वयन गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। साथै, परराष्ट्र मन्त्रालयसँगको समन्वयमा ईयूका राजदूत तथा सदस्य राष्ट्रका आवासीय र गैरआवासीय राजदूतहरूसँग छलफल गरी नेपालमा भएका सुधार र आगामी प्रतिबद्धताबारे जानकारी गराइएको छ।
मन्त्री पौडेलले ‘कालोसूची’ भन्दा प्राविधिक रूपमा ‘हवाई सुरक्षा सूची’ शब्द प्रयोग गर्नु उपयुक्त हुने बताए। उनले कूटनीतिक पहलसँगै हवाई सुरक्षा क्षेत्रमा वास्तविक, मापनयोग्य र दिगो सुधार गरेर नेपाललाई सूचीबाट हटाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।