पुस, काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय महासचिव पदका लागि वर्तमान प्रथम सचिव भवनाथ हुमागाईँले उम्मेदवारी घोषणा गरेका छन्। आगामी पौष २८ गते काठमाडौमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुदै छ ।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने अभियानमा निरन्तर सक्रिय रहँदै आएका हुमागाईँले सचिवका रूपमा संगठन तथा आन्तरिक मामिला विभागको संयोजन गर्दै संस्थागत सुदृढीकरणमा योगदान दिएको बताएका छन्। केन्द्र र जिल्ला शाखाबीच समन्वय सुदृढ गर्दै एकीकृत कार्यप्रणाली विकासमा भूमिका खेलेको उनको भनाइ छ।
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न निर्णायक पहल गरेको दाबी गरेका छन्। महासचिवमा निर्वाचित भए शाखा सशक्तिकरण, सदस्य विस्तार, नीतिगत सुधार तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा इक्यानको प्रभावकारी भूमिका सुनिश्चित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
इक्यानलाई सबैको साझा संस्था बनाउँदै परिणाममुखी नेतृत्व दिन चाहेको उल्लेख गर्दै हुमागाईँले एक पटक काम गर्ने अवसर दिन शैक्षिक परामर्श व्यवसायीहरूलाई आग्रह गरेका छन्।