इरानबाट सम्भावित हमलाको चेतावनीपछि बेलायतबाट बी–१ बमवर्षक फिर्ता लग्यो अमेरिका

05 October, 2026 88 Views
इरानबाट सम्भावित हमलाको चेतावनीपछि बेलायतबाट बी–१ बमवर्षक फिर्ता लग्यो अमेरिका
88

अमेरिकाले इरानबाट सम्भावित हमला हुन सक्ने नयाँ सुरक्षा सूचना पाएपछि बेलायतमा तैनाथ आफ्ना सबै १२ वटा बी–१ बमवर्षक विमान फिर्ता लगेको छ ।

दक्षिणी इंग्ल्यान्डस्थित आरएएफ फेयरफोर्डबाट ती विमान सप्ताहन्तमै अमेरिकातर्फ पठाइएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले जनाएको छ । अमेरिकी सेनाले शान्तिकालमा सहयोगी मुलुकको हवाई अखडाबाट यति ठूलो संख्यामा बमवर्षक विमान छोटो समयमै फिर्ता लैजानुलाई असामान्य मानिएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार खतरा गम्भीर देखिएपछि केही बमवर्षक विमान हावामा इन्धन भर्ने विमानसमेत परिचालन नगरी चालक दलसहित अमेरिका फर्किएका थिए । आइतबारसम्म कम्तीमा तीन वटा बी–१ बमवर्षक दक्षिण डकोटास्थित अमेरिकी हवाई अखडामा पुगिसकेका थिए ।

अमेरिकी युरोपेली कमान्डले पनि फेयरफोर्डमा तैनाथ अमेरिकी बमवर्षक विमानहरू आफ्नै हवाई अखडातर्फ फर्किरहेको पुष्टि गरेको छ । तर विमान फिर्ता गर्नुको तत्काल कारण भने कमान्डले सार्वजनिक गरेको छैन ।

कमान्डले अमेरिकी वायुसेनाका बमवर्षक विमानहरू विश्वव्यापी सैन्य तयारी र परिचालन आवश्यकताअनुसार विभिन्न स्थानमा नियमित रूपमा परिचालन हुने बताएको छ । बेलायतको रक्षा मन्त्रालयले भने अमेरिकी सैन्य विमानको आवागमनबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

अमेरिकी अधिकारीका अनुसार विमान फिर्ता गर्नुको कारण बनेको पछिल्लो सुरक्षा सूचना तीन साताअघि प्राप्त चेतावनीसँग सम्बन्धित थियो । पछिल्लो २४ घण्टामा सम्भावित खतरा अझ गम्भीर बनेपछि विमान फिर्ता गर्ने निर्णय गरिएको उनीहरूको भनाइ छ ।

आरएएफ फेयरफोर्डमा केही बी–१ बमवर्षक विमान नियमित सैन्य रोटेसनअन्तर्गत एक साताअघि मात्रै पुगेका थिए । अमेरिकी तथा अन्य पश्चिमा गुप्तचर निकायले सेप्टेम्बरमै फेयरफोर्ड क्षेत्रमा इरान समर्थित सम्भावित हमलाको चेतावनी दिएको बताइएको छ ।

सम्भावित हमलासम्बन्धी मूल्यांकनमा अवरोध गरिएका सञ्चार, सूचनादाता र अन्य गुप्तचर स्रोतबाट प्राप्त जानकारी प्रयोग गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । सम्भावित प्रारम्भिक हमलापछि ड्रोनमार्फत थप आक्रमण हुन सक्ने जोखिमसमेत औंल्याइएको थियो ।

यसैबीच, फेयरफोर्ड आसपास पछिल्लो समय शंकास्पद गतिविधि बढेको बताइएको छ । गत साता बेलायती प्रहरीले हवाई अखडानजिकै सेता भ्यानमा रहेका पाँच जनालाई पक्राउ गरेको थियो । उनीहरूबाट विस्फोटक पदार्थ फेला नपरेपछि अर्को दिन धरौटीमा रिहा गरिए पनि अनुसन्धान जारी रहेको बताइएको छ ।

त्यसपछि बेलायती प्रहरीले बेलायती–इरानी दोहोरो नागरिकता भएका एक व्यक्तिलाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरेको थियो । बेलायतका अधिकारीहरूले यी घटनामा इरानको सम्भावित भूमिकाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

अमेरिका, बेलायत, जर्मनी र इजरायलका अधिकारीहरूले घटनाको सम्बन्ध इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) वा तेहरानस्थित अन्य सैन्य संरचनासँग हुन सक्ने आशंका गरेका छन् । इरानले भने यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले यसअघि अमेरिकी सेनालाई फेयरफोर्ड हवाई अखडा प्रयोग गर्न दिइएको विषयमा बेलायतलाई चेतावनी दिँदै उक्त आधारबाट इरानविरुद्ध आक्रमण भए बेलायत पनि त्यसको जिम्मेवार हुने बताएको थियो । इरानले आफ्नो भूमिमाथि आक्रमणका लागि प्रयोग हुने कुनै पनि सैन्य अखडा आफ्ना लागि ‘वैध लक्ष्य’ बन्न सक्ने चेतावनीसमेत दिएको थियो ।

फेयरफोर्डबाट बी–१ बमवर्षक फिर्ता गर्ने अमेरिकी निर्णय सम्भावित सुरक्षा जोखिम बढेको पृष्ठभूमिमा आएको हो । महँगा बमवर्षक विमानलाई ड्रोनजस्ता कम लागतका हवाई आक्रमणबाट हुन सक्ने जोखिमबाट जोगाउन पनि यस्तो कदम चालिएको हुन सक्ने सुरक्षा विश्लेषण गरिएको छ ।

Related Post