इरानमा अमेरिकी आक्रमण तीव्र, १७० भन्दा बढी सैन्य केन्द्र निशानामा, तेहरानको कडा चेतावनी

10 July, 2026 20 Views
इरानमा अमेरिकी आक्रमण तीव्र, १७० भन्दा बढी सैन्य केन्द्र निशानामा, तेहरानको कडा चेतावनी
20

 अमेरिका–इरानबीचको तनाव थप चर्किँदै गएको छ। अमेरिकाले पछिल्लो दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ भने इरानले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स प्रणाली, ड्रोन भण्डार तथा तटीय सैन्य अखडाहरू रहेका थिए।

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले होर्मुज जलडमरूमध्यमा अमेरिकी गतिविधि बढे कडा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएको छ। आईआरजीसीले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीट मुख्यालय, कुवेतको अली अल-सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी आक्रमण जारी रहे होर्मुज जलडमरूमध्यको अवस्था सामान्य हुन नसक्ने र यस मार्गमा निर्भर विश्वका धेरै मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी इरानले दिएको छ।

यसैबीच, उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक रेलमार्ग पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको पनि जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँगको युद्धविराम सम्झौता समाप्त भइसकेको र अब नयाँ सम्झौता नगर्ने बताएका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले कूटनीतिक समाधान खोज्ने उद्देश्यले इरानसँग प्राविधिक तहमा वार्ता जारी रहेको दाबी गरेका छन्। कतार र पाकिस्तानले दुवै पक्षबीच मध्यस्थताको प्रयास गरिरहेका छन्।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने धम्कीको वातावरणमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता सम्भव नरहेको स्पष्ट पार्दै अमेरिका पहिलेका सम्झौताहरूको सम्मान गर्न तयार हुनुपर्ने बताएका छन्।

तनावकै बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको बिहीबार मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको जनाइएको छ। सात दिनसम्म चलेको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा डेढ करोडभन्दा बढी मानिस सहभागी भएको दाबी गरिएको छ।

उता, बिहीबार इरानको बुशहर आणविक केन्द्र आसपासका दक्षिणी क्षेत्रमा विस्फोटका आवाज सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ विस्फोटमा आफ्नो संलग्नता नरहेको बताएका छन्।अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य इरानको मात्र नियन्त्रणमा नरहेको दाबी गर्दै त्यहाँबाट ८०० भन्दा बढी व्यापारिक जहाज सुरक्षित रूपमा आवतजावत गराइएको जनाएको छ।

यसैबीच, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र अन्य खाडी राष्ट्रहरूले कुवेत तथा बहराइनस्थित अमेरिकी सैन्य अखडामाथि इरानले गरेको मिसाइल आक्रमणको कडा निन्दा गरेका छन्। जोर्डनले पनि आफ्नो आकाशमा प्रवेश गरेका इरानी मिसाइलहरू खसालेको दाबी गरेको छ।

अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावले मध्यपूर्वमा सुरक्षा, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढाउने चिन्ता अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरिरहेको छ।

Related Post