53
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को महत्वपूर्ण खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। अमेरिकाको ह्युस्टनस्थित स्टेडियममा मंगलबार भएको खेलमा उज्बेकिस्तानलाई ५-० को भारी गोलअन्तरले पराजित गर्दै पोर्चुगलले सानदार जित दर्ता गरेको हो। खेलको छैटौँ मिनेटमै जोआओ कान्सेलोको पासलाई सदुपयोग गर्दै ४१ वर्षीय रोनाल्डोले गोलको खाता खोलेका थिए।
यस गोलसँगै उनी विश्वकप इतिहासमा लगातार ६ वटा फरक संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। पहिलो खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगोसँग १-१ को बराबरीमा रोकिँदा आलोचना खेपेका रोनाल्डोले यस खेलमा उत्कृष्ट पुनरागमन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्।
पोर्चुगलको एकपक्षीय जितमा रोनाल्डोले खेलको ३९ औँ मिनेटमा ब्रुनो फर्नान्डेसको थ्रु-बलमा व्यक्तिगत दोस्रो गोल थपेका थिए। यससँगै विश्वकपमा उनको कुल गोल संख्या १० पुगेको छ, जसले महान् खेलाडी युसेबियोको ९ गोलको कीर्तिमानलाई तोड्दै उनलाई विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत बनाएको छ।
पोर्चुगलका लागि अन्य गोलहरू १७ औँ मिनेटमा नुनो मेन्डिसले फ्रिकिकमार्फत र ८७ औँ मिनेटमा राफेल लेआओले गरेका थिए भने खेलको ६० औँ मिनेटमा उज्बेकिस्तानका गोलकिपरबाट आत्मघाती गोल भएको थियो। यो जितसँगै पोर्चुगल नकआउट चरणको नजिक पुगेको छ भने विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानले लगातार दोस्रो हार बेहोर्नु परेको छ।